निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न
गैंडाकोट, नवलपुर — सूर्यदीप नारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा पायल्स, फिसर, फिस्टुला तथा गुप्तरोगसम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ।
२०८२ साल जेठ १६ गते गैंडाकोट–९ स्थित स्वास्थ्य चौकीमा आयोजित शिविरमा विभिन्न स्वास्थ्य समस्याबाट प्रभावित तथा स्वास्थ्य परीक्षण गर्न चाहने स्थानीय नागरिकहरूले निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श सेवा लिएका थिए।
शिविरमा विशेषगरी पायल्स, फिसर, फिस्टुला तथा गुप्तरोगसम्बन्धी स्वास्थ्य समस्याका बारेमा आवश्यक स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श तथा रोगको अवस्था र उपचारका सम्भावित उपायबारे जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा एन्जल फाउन्डेसन, शाखा कार्यालय बाराको प्राविधिक सहयोग रहेको थियो। स्वास्थ्यसम्बन्धी समस्यालाई समयमै पहिचान गरी उचित उपचार तथा आवश्यक परामर्श लिन प्रोत्साहित गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ।
गुप्त तथा संवेदनशील स्वास्थ्य समस्याका कारण धेरै मानिसहरू समयमै स्वास्थ्य संस्थामा पुग्न हिचकिचाउने गरेको अवस्थामा यस्ता निःशुल्क स्वास्थ्य शिविरले नागरिकलाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिन र आवश्यक उपचारका लागि उचित परामर्श प्राप्त गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ।
सूर्यदीप नारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सदस्य तथा स्थानीय समुदायको स्वास्थ्य र सामाजिक हितलाई समेत ध्यानमा राख्दै आगामी दिनमा पनि यस्ता स्वास्थ्य सचेतना तथा सेवामूलक कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ।

